निर्वाचनका समय रौतहटमा शान्ति सुरक्षा कायम राख्न पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत सेनाले गस्ती गर्न थालेको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ ।फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै सेनाले अत्याधुनिक सैनिक सवारी साधनसहित व्यापक सुरक्षा गस्ती तथा निगरानी सुरु गरेको जनाएको छ ।
जिल्लाका विभिन्न मतदान स्थलहरूमा एकैसाथ गस्ती परिचालन गर्दै सम्भावित जोखिमलाई नियन्त्रणमा लिन सक्रियता बढाएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा सेनाले जिल्लाभर सुरक्षा सतर्कता उच्च पारेको हो । मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको सेनाले जानकारी दिएको छ ।निर्वाचनका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी र जनशक्ति परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाालले बताएका छन् । शान्तीपूर्ण वातावरणमा मतदान हुने भएकोले रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

