नेपाली कांग्रेस सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा जुटेको छ । समानुपातिकतर्फका सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउन शीर्ष नेतृत्वबीच छलफल चलिरहेको छ ।कांग्रेसका एक सहमहामन्त्रीले सहमतिमा संसदीय दलको नेता चयनका लागि पार्टीका शीर्ष पाँच नेताबीच छलफल भइरहेको जानकारी दिए । उनका अनुसार सोमबार सभापति, उपसभापति र महामन्त्रीहरू बीच दलको नेता चयनबारे छलफल भएको थियो ।
कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउने भन्दै सहमहामन्त्री प्रकाश स्नेही ‘रसाइली’ को संयोजकत्वमा निर्वाचन समिति गठन गरेको सूचना चुहिएको थियो ।तर, समिति गठनको विषयलाई कांग्रेसले औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन । संयोजक तोकिएका सहमहामन्त्री रसाइली पनि समिति गठनबारे अनभिज्ञता जनाउँदै आएका छन् ।

