उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।
आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा सोमबार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले अगामी आर्थिक वर्ष २०८२/८३ मा बजेटमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रको सुधारका लागि ठोस कदम चाल्ने बताए।
अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई स्पष्ट रूपमा बुझ्ने दाबी गर्दै विगतका ढिलासुस्ती र अवरोध अन्त्य गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलको भनाइ छ।
उनले निजी क्षेत्रलाई माथि उकास्नकै लागि सरकारले अध्यादेशमार्फत ३०–३२ वटा कानुनहरू संशोधन गरेको जिकिर गरे। अध्यादेशमार्फत ल्याइएका कानुनहरू कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका निर्माणको काम अगाडि बढिरहेको अर्थमन्त्री पौडेलले बताए।

