काठमाडौं । थमन विक हत्या प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।
कोइरीका छोरा मनोज कुमार महतोले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामा राख्नुपर्ने अन्य कानुनी आधार नभए तत्काल रिहा गर्न आदेश दिएको हो।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जारी गरेको पत्रमा अन्य कुनै मुद्दामा हिरासतमा राख्नुपर्ने अवस्था नरहेमा बिहीबार नै कोइरीलाई रिहा गर्न महोत्तरीस्थित जलेश्वर कारागार कार्यालयलाई निर्देशन दिइएको उल्लेख छ।
यसअघि उच्च अदालत जनकपुरले थमन विक हत्या प्रकरणमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।

