कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने भएको छ । अहिले संसदीय दलको बैठक जारी छ । बैठकमा मुख्यमन्त्री शाहको राजीनामा माग्ने विषयमा सांसदहरू सहमत भएका छन् । ञसरकारले बहुमत गुमाइसकेको छ। अब हलो अड्काउनु हुँदैन भन्ने निष्कर्षका साथ मुख्यमन्त्रीको राजीनामा माग्ने कुरा भएको छ,झबैठकमा सहभागी एक सांसदले भने। यद्यपि, औपचारिक निर्णय हुन भने बाँकी रहेको उनले बताए ।
त्यस्तै, सरकार कामचलाउ भइसकेकाले ठूला निर्णय नगर्न आग्रह गर्ने तथा नेकपाले मुख्यमन्त्रीमा दाबी गर्दै अन्य दलसँग पनि छलफल गर्ने निर्णय हुने जनाइएको छ। बैठकमा पार्टी इन्चार्ज भानुभक्त जोशी, सहइन्चार्ज दीर्घ सोडारी र पार्टी अध्यक्ष हरि चौधरी ‘उत्सव’ पनि सहभागी छन्। केन्द्रमा कांग्रेस९एमालेबीच संघीय गठबन्धनबारे अन्तिम निष्कर्ष ननिस्किएसम्म प्रदेशमा नेकपाले दुवै दलसँग आन्तरिक छलफल गरिरहेको छ। सुदूरपश्चिममा सबैभन्दा ठूलो दल भएकाले सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने नेकपाको अडान छ।
यहाँ नेकपाका २२ सांसद छन्। सबैभन्दा ठूलो दल भएको दाबी गर्दै नेकपाले अहिले कांग्रेससँग बजेट मात्र पारित गरेर अघि बढ्न नसकिने बताइसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाश देउवा अमेरिका रहेका छन्। एमालेका चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो, जसपछि मुख्यमन्त्री अल्पमतमा परेका छन्।
अहिले बजेट पारित हुने सम्भावना टर्दै गएपछि मुख्यमन्त्रीले अध्यादेशतर्फ नजर लगाइरहेको बताइएको छ । यही बेला बसेको नेकपा संसदीय दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

