महिला उद्यमीका समस्या हटाउन सरकार प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको बृहत् छलफलमा उनले महिला उद्यमीका सम्पूर्ण व्यवधान हटाउन सरकार जुटिरहेको उल्लेख गरे । प्रधानमन्त्री शाहले महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलमा प्रवर्द्धन गर्ने वातावरण मिलाइने जानकारीसमेत गराएका छन् ।

छलफलका क्रममा महासङ्घका प्रतिनिधिले निर्धक्कसँग काम गर्न सक्ने व्यवसायमैत्री वातावरण, वस्तु तथा सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विशेष कार्यक्रम, व्यापार मेला, प्रदर्शनी तथा निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको माग गरेका थिए । महासङ्घले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई स्वीकार गर्दै प्रधानमन्त्री शाहले सो ब्रान्ड तत्काल बजारमा ल्याउन उत्प्रेरित गरे ।

यसका साथै महासङ्घको वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको माग गरिएको छ । महिला उद्यमीलाई खरिद प्रक्रियाको हिस्सेदार बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा प्राथमिकता दिँदै सबै सरकारी कार्यालय एवं शैक्षिक संस्थाहरूमा महिलाका वस्तु तथा सेवा अनिवार्य खरिद गर्ने व्यवस्था लागू गर्नसमेत अनुरोध गरिएको छ ।

वित्तीय सहुलियत वास्तविक महिला उद्योगीले नपाएको गुनासो गर्दै उनीहरूले यो सुविधा गाउँगाउँसम्म पुर्‍याउन, दायरा विस्तार गर्न र पुँजी अभावमा सपना नमरोस् भनी धितोको वैकल्पिक व्यवस्था मिलाउन माग गरे ।

 

सम्बन्धित समाचार

ताजा समाचार