अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग भिड्ने

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग भिड्ने भएको छ । अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २(१ ले पराजित गर्दै अर्जेन्टिनाले स्पेनसँग उपाधि भेट पक्का गरेको हो ।

एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै इंग्ल्यान्डलाई हराएको हो । विश्वकपमा सातौं पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले सेमिफाइनलमा अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

अब अर्जेन्टिना र स्पेन बीच फाइनल खेल जुलाई २० सोमबार बिहान अमेरिकाको न्यु योर्क न्युजर्सी स्टेडियममा हुनेछ । यस्तै तेस्रो स्थानको लागि आइतबार बिहान फ्रान्स र इंग्ल्यान्ड बीच खेल हुनेछ ।

साविक विजेता अर्जेन्टिनाले समूह चरणको खेलमा सहज जित हात पारे पनि नकआउट चरणका खेलहरुमा संघर्ष गर्दै आएको थियो । नकआउट चरणमा अन्तिम समयमा गोल गर्देै खेल जित्नेदेखि कमब्याक जित हात पार्ने अर्जेन्टिनाले सेमिफाइनलमा पनि त्यही गर्‍यो ।

अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका थिए । यस्तै अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै अर्जेन्टिनाले शतप्रतिशत नतिजा सहित समूह विजेता बनेर नकआउट चरणको यात्रा तय गरेको थियो ।

राउण्ड अफ ३२ मा डेब्युटान्ट केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको अर्जेन्टिनाले प्रि क्वाटरफाइनलमा इजिप्ट विरुद्ध अन्तिम समयमा पुनरागमन गर्दै ३-२ कै जित हात पारेको थियो ।

यस्तै क्वाटरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३(१ ले पराजित गर्दे लगातार दोस्रो पटक सेमिफाइनल पुगेको थियो । अर्कोतर्फ सन् २०१० को विजेता स्पेनले १६ वर्षपछि विश्वकपमा फाइनलमा स्थान बनाउँदा अपराजित छ ।

पहिलो खेलमै नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले दोस्रो खेलमा साउदी अरेबियालाई ४–० ले हराएर पहिलो जित हात पार्‍यो । त्यसपछि समूहको अन्तिम खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन आफ्नो समूहको विजेता बनेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार