बालेनलाई काँग्रेसको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेकी छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक जना युवाले पेट्रोल छर्केर आत्मादाह गर्दा पनि किन मौनता साँधेको ? भनेर प्रधानमन्त्री साहलाई प्रश्न पनि गरिन् । प्रमुख सचेतक थापाले सरकारको आतंकका कारण नेपालीले आफनो शरीरमा आगो लगाउँदा पनि उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था नगरेर सरकारले अपराधिको जस्तो व्यवहार गरेको आरोप समेत लगाइन् । एउटा नागरिकले आफनो शरीरमा  आफैँले आगो लगाउनुपर्ने हृदयविदारक घटना घट्दा पनि सरकार गम्भिर नभएको प्रमुख सचेतक थापाले गुनासो गरिन् ।
उनले भनिन्, प्रधानमन्त्रीज्यु, हिजोको घटनामा तपाईंको मौनता किन ? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं तर आज स्वयम सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिन किन टाढा हुनुहुन्छ ? राज्य आतंकका कारण एक युवाले आफै आगो सल्काउँदा समेत राज्य मुकदर्शक बन्यो । आगो शरीरमा दन्कीरहेको छ । तर राज्यले एम्बुलेन्स पठाएन । अरु प्रहरी प्रशासन लगाएर अपराधीझैँ घिसारेर लग्यो । म सरकारलाई सोध्न चाहन्छु–यो उद्धार हो कि गिरफतार सरकार ? के ऊ देशद्रोही हो ? उसले कसको विरुद्ध के अपराध गरेको थियो ? उसको गल्ती यही हो कि यही देशमा जन्मियो र यहीँ बसेर आफनै देशमा केही गर्ने प्रण ग¥यो । विदेशमा काम गरिरहेका तमाम युवाहरुको अवस्था यही छ । अरुले आफैलाई चलाउने हिम्मत गरिरहेका छैनन । बहादुर युवाले विद्रोह ग¥यो सरकार । जनताको लाईफ बचाउने भन्दा पनि सामाजिक सञ्जालमा मानवीय संवेदनशीलतालाई कुल्चेर लाईभ बनाउने ध्याउन्नमा छ । देशले आशा गरिएको भनेको नयाँ सरकार आउँदा पनि यो शिलशिला रोकिएको छैन । म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु राज्य के यति निरिह र असफल भईसकेको हो ? कि आफनो पीडा सुनाउन नागरिकहरुले आफनै शरिरमा आगो लगाउनुपर्ने अवस्था आउँछ । होइन भने यस्ता हृदयविदारक घटनाहरु किन बारम्बार दोहोरिरहेका छन ? म सभामुख महोदयमार्फत सरकारलाई सोध्न चाहन्छु–अव कालो चश्मा खोल्ने बेला आएको छ । साझा यातायातको हरियो बसमा निलो पोतेर नागरिकको सुरक्षाको महशुस गरिँदैन ।’
प्रमुख सचेतक थापाले नागरिकको सुरक्षाको विषयमा सरकारले कुनैपनि ठोस कदम चाल्न नसकेको जिकिर पनि गरेकी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार