काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटनामा आफ्नो कुनै भूमिका नरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्पष्ट पारेको छ।
कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा ट्राफिक प्रहरीले जरिवाना (फाइन) गरेपछि गणेशले आत्मदाहको प्रयास गरेको भन्ने दाबी तथ्यमा आधारित नभएको जनाएको छ। कार्यालयका अनुसार उक्त विषयले अनावश्यक भ्रम फैलाएको छ।
एसपी नरेशराज सुवेदीद्वारा जारी विज्ञप्तिमा ट्राफिक प्रहरीले गणेश नेपालीमाथि कुनै पनि प्रकारको जरिवाना नगरेको र घटनाको ट्राफिक कारबाहीसँग कुनै सम्बन्ध नरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान अघि बढाइसकेको जानकारी पनि दिइएको छ। साथै, आधिकारिक पुष्टि नभएका सूचना तथा अपुष्ट दाबीका आधारमा सुरक्षा निकायको नाम जोडेर समाचार वा टिप्पणी प्रकाशित तथा प्रसारित नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।


