नेपाली महिला कबड्डी टोलीले बंगलादेशमा सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले बंगलादेशसँग पाँच खेलको श्रृङ्खला खेल्ने भएको छ । श्रृंखला जुलाइ १७ देखि २३ तारिखसम्म बंगलादेशको ढाकामा हुनेछ ।
नेपाली महिला टोलीले दोस्रो पल्ट बङ्गलादेशमा श्रृंखला खेल्दैछ । नेपालको महिला टोलीले आगामी २० औं एशियन गेम्समा पनि चुनौती प्रश्तुत गर्दैछन् । एशियन गेम्सका लागि मिसन–२६ मा रहेका सिमित खेलाडी मात्र यो श्रृङ्खलामा सहभागी छन् । नयाँ खेलाडीलाई एक्सपोजर दिने उद्देश्यले नियमित खेलाडीलाई विश्राम दिएको अखिल नेपाल कबड्डी संघले जनाएको छ । कबड्डी संघका महासचिव अरविन्दकुमार झाले अरु खेलाडीलाई पनि अवसर दिने उद्देश्यले अधिकांश ‘बी’ टोलीका खेलाडीलाई समावेश गरिएको बताए ।
एशियन गेम्स र साउदी अरेबियामा हुने इन्डोर गेम्सका लागि पनि संघले राष्ट्रिय टोलीका लागि ब्याकअप तयारी गरिरहेको छ । सोही लक्ष्यनुरूप केही खेलाडीलाई भारतमा अभ्यासका लागि पठाइसकेको छ । पाँच खेलको श्रृंखलाको तयारीका लागि नेपाली महिला कबड्डी टोली मंगलवार झापाको भद्रपुर गएको छ । नेपाली टोलीले आगामी ३० गतेसम्म भद्रपुरमा अभ्यास गर्ने र र ३१ गते ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
मेनुका राजवंशी कप्तानीका १३ सदस्य नेपाली टोली छन् । टोलीको अन्य खेलाडीमा आस्मा यादव, सिर्जनाकुमारी थारु, निशा बोहरा, गंगा घिमिरे, नानुमाया पराजुली, मनिषा जोशी, विनिता पण्डित क्षेत्री, सुस्मी राई, राधिका खडायत, उरुषा शाक्य, निर्मला भट्ट, संगिता तामाङ र पुष्पा चौधरी रहेका छन् ।
प्रशिक्षकमा हरिना थापा, सहायक प्रशिक्षकमा वन्धु राणा, टिम व्यवस्थापकमा कृष्णदेव पन्त, अफिसियलमा पर्शुराम झा, तरुणकुमार यादव, गणेशदत्त भट्ट, जयप्रकाश राजवंशी र प्रकाशप्रसाद शाह छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा सदस्यसचिव मेहताले पछिल्लो समय कबड्डीले राम्रो गरिरहेकाले राखेपले कबड्डीलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै आसन्न एशियाली खेलकुदमा कबड्डीको पुरुष र महिला दुवै टोली सहभागी हुने बताए । अध्यक्ष थापाले राखेपबाट कबड्डीले राम्रो सहयोग पाइरहेको र सहयोगका लागि धन्यवाद दिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार