बर्डफ्लु प्रभावित किसानका लागि लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ ।

मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्डफ्लुबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरुप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो ।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले निकासा भएको रकम पीडित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए ।

विभागका अनुसार बर्डफ्लु सङ्क्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो । यसबाट ७० करोड बराबरको क्षति भएको थियो ।

बर्डफ्लु रोग नियन्त्रण २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ ।

गत चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल ११ जिल्लामा देखिएको छ । भाइरसको स्वरूप परिवर्तन हुनसक्ने जोखिम रहेकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि पन्छी, अण्डा तथा दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताए ।

रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रणकक्ष स्थापना गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार