मुलुकमा तोडफोड, हिंसा, आगजनीजस्ता गतिविधिलाई वैधानिकता दिने काम भयोः केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई बैधानिकता दिने काम भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनैपनि क्षेत्र गतिका साथ अघि बढन नसकेको तर्क समेत गरे । अध्यक्ष ओलीले आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भएपनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाए । उनले आम जनताले न्याय पाउने गरी आफूहरुले देशलाई फेरि अघि बढाउने दाबी समेत गरे ।

अध्यक्ष ओलीले भने,‘खेलाडीहरुमा देशभक्ति चाहिन्छ । देशको प्रतिष्ठाका लागि खेलाडीहरुले कसरी ज्यान फालेर खेलेका हुन्छन । हामी हरेकमा देशभक्ति चाहिन्छ । हामीले त्यसलाई बुझ्नुपर्दछ । देश विकसित भएन भने मलाई खेलसँग मतलव छ अरुथोक भनेर देश नै बर्बाद छ भने खेलमात्रै कसरी अघि बढछ र । नेपालको हालत त्यही भएको त हो । हामीले देशलाई अगाडि बढाउन खोज्यौ । भुईचालोले ध्वस्त बनायो, हामीले त्यसलाई उठायौ । कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौ । अर्थतन्त्री ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ । र विभिन्न क्षेत्रहरु शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र अनेकलाई हामीले यत्नपूर्वक अघि बढाउने प्रयास ग¥यौं । तर त्यो कुरा सैह्य भएन । विभिन्न शक्तिहरुले त्यसलाई संवैधानिक हिसावले, ढाल्न नसकेपछि असंवैधानिक हिसावले, उपद्रवको हिसावले तोडफोड, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरुबाट सरकार ढाल्ने बाटो समातियो । त्यसलाई वैधानिकता दिने काम भएको छ । तर देशलाई हामी फेरि शान्तिपूर्ण नेपाल, भयमुक्त नेपाल, साँच्चै सबै जनताले न्याय पाउने नेपाल, सबै जनतालाई न्याय प्राप्त हुने, सबैलाई माया गर्ने व्यवस्था त्यस प्रणालीबाट फेरी अगाडि बढ्नेछौँ । म साथीहरुलाई त्यही भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले हरेक नागरिकमा देशभक्तिको भावना आवश्यक रहेको पनि बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार