सर्वोच्चले विष्णु पौडेलसँग जोडिएको रिटमा विशेष अदालतको सक्कल मिसिल झिकायो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गरिरहेको सर्वोच्च अदालतले विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाका सम्पूर्ण कागजात, प्रमाण तथा अभिलेख अध्ययनका लागि विशेष अदालतबाट सक्कल मिसिल मगाउने निर्णय गरेको हो।

सर्वोच्चका अनुसार विशेष अदालतबाट प्राप्त हुने मिसिलमा समावेश प्रमाण, कागजात तथा सम्बन्धित विवरणहरूको विस्तृत अध्ययनपछि मात्रै रिटमाथिको थप सुनुवाइ अघि बढाइनेछ।

बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका विषय र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच कानुनी रूपमा सम्बन्ध देखिएकाले निष्पक्ष न्यायिक निरूपणका लागि सक्कल फाइल आवश्यक रहेको अदालतको आदेशमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार