लमजुङ कांग्रेसले गर्‍यो १० जनाको साधारण सदस्यता खारेज, कारबाहीको निर्णय

लमजुङ । नेपाली कांग्रेस लमजुङले मध्यनेपाल नगरपालिका–७ का केही कार्यकर्तामाथि कारबाही गरेको छ। पार्टीको विधान र आचरणविपरीत गतिविधि गरेको भन्दै वडा नंम्बर ७ का १० जनाको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरिएको हो।

नेपाली कांग्रेस लमजुङ जिल्ला कार्यसमिति, पालिका सभापतिहरू र सम्बन्धित क्षेत्रका पदाधिकारीहरूको संयुक्त बैठकले उनीहरूमाथि कारबाही गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ।

जिल्ला कार्यसमितिले जारी गरेको सूचनाअनुसार मध्यनेपाल नगरपालिका–७ का वडा कार्यसमिति र जिल्ला पदाधिकारी तथा सदस्यहरूको संयुक्त बैठकबाट पार्टीको विधान र आचरणविपरीत कार्य गरेको निष्कर्ष निकाल्दै साधारण सदस्यता समेत नरहने गरी कारबाहीको सिफारिस गरिएको थियो। सोही आधारमा उनीहरूको सदस्यता खारेज गरिएको जनाइएको छ।

कारबाहीमा पर्नेहरूमा मध्यनेपाल–७ का पूर्णचन्द्र पोखरेल, माधवप्रसाद घिमिरे, चन्द्रकला घिमिरे, युवराज घिमिरे, नेत्रबहादुर केसी, धनबहादुर विक, राधाकृष्ण घिमिरे, कर्णबहादुर केसी, रविचन्द्र घिमिरे र लक्ष्मण विक रहेका छन्।

पत्रमा कारबाहीमा परेका व्यक्तिहरूले नेपाली कांग्रेसको टिकटबाट जनप्रतिनिधि निर्वाचित भएका भए सम्बन्धित पद स्वतः खाली हुने व्यहोरा सम्बन्धित निकायलाई जानकारी गराइएको उल्लेख छ।

नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेको सूचनामा पार्टीको केन्द्रीय कार्यालय, मध्यनेपाल नगर कार्यसमिति, नगरपालिका कार्यालय र वडा कार्यालयलाई समेत जानकारी गराइएको छ।

यो निर्णयसँगै मध्यनेपाल नगरपालिका–७ मा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ। पार्टी विधान उल्लङ्घनको आरोपमा गरिएको कारबाहीलाई केही पक्षले अनुशासनको कदम भनेका छन् भने प्रभावित पक्षको धारणा भने सार्वजनिक भएको छैन।

सम्बन्धित समाचार

ताजा समाचार