रास्वपा महाधिवेशन : पदमराज पन्थीले घोषणा गरे केन्द्रीय सदस्यमा उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको अवसरमा पार्टीका संस्थापक सदस्य तथा केन्द्रीय प्रवास विभागका सचिव पदमराज पन्थीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पार्टी स्थापनाको सुरुवाती चरणदेखि नै वैकल्पिक राजनीतिको अभियानमा सक्रिय रहँदै आएका पन्थीले महाधिवेशनलाई पार्टीको नीति, विचार र आगामी दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

पन्थीले आफू रास्वपाको सदस्यता नम्बर ६०० रहेको संस्थापक सदस्य भएको उल्लेख गर्दै पार्टी स्थापनाअघि नै देशमा नयाँ राजनीतिक विकल्पको आवश्यकता रहेको आवाज उठाउँदै आएको बताएका छन्। उनले स्वतन्त्र उम्मेदवारका रूपमा बालेन शाहको चुनावी अभियानमा समेत सहयोग गरेको स्मरण गरेका छन्।

रास्वपा स्थापना भएपछि राष्ट्रिय सभागृहमा भएको पहिलो घोषणा कार्यक्रमदेखि नै पार्टीका गतिविधिमा निरन्तर सक्रिय रहेको बताउँदै पन्थीले संगठन विस्तार र पार्टी निर्माणको यात्रामा आफूले सक्दो योगदान दिँदै आएको बताएका छन्।

उनले निर्वाचनमा व्यक्तिगत जितभन्दा पार्टीको जित महत्वपूर्ण रहेको मान्यताका साथ काम गरेको उल्लेख गर्दै संघीय निर्वाचनमा पार्टीको उम्मेदवारका रूपमा सहभागी भएको अनुभवसमेत साझा गरेका छन्।

प्रवासमा रहेका नेपालीका सवाललाई आफ्नो मुख्य प्राथमिकतामा राख्दै आएका पन्थीले केन्द्रीय प्रवास विभागमार्फत रोजगारी, अध्ययन, सामाजिक सुरक्षा तथा विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि नीति निर्माण तहमा पहल आवश्यक रहेको बताएका छन्।

“एकपटकको नेपाली, सधैँको नेपाली” भन्ने भावनाअनुसार विदेशमा रहेका नेपालीको अधिकार र सम्मान सुनिश्चित गर्न राज्यका नीति अझ प्रभावकारी बन्नुपर्ने उनको भनाइ छ। दूतावासको क्षमता अभिवृद्धि, प्रवासीका समस्या समाधान र उनीहरूको योगदानलाई राष्ट्र निर्माणसँग जोड्नुपर्ने विषयमा आफूले निरन्तर आवाज उठाउँदै आएको उनले बताएका छन्।

प्रथम महाधिवेशनले पार्टीको भविष्यको बाटो तय गर्ने उल्लेख गर्दै पन्थीले सही नीति, विधि र नेतृत्वबाट मात्रै रास्वपाले जनताको विश्वासलाई अझ बलियो बनाउन सक्ने बताए।

चार वर्षको छोटो अवधिमा पार्टीले हासिल गरेको जनसमर्थनलाई सही नीति र नेतृत्वको परिणाम भएको दाबी गर्दै उनले आगामी यात्रालाई थप सुदृढ, जनमुखी र प्रभावकारी बनाउन गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन्।

महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा पार्टी शुभेच्छुकसँग समर्थनको अपिल गर्दै पन्थीले आफूलाई जिम्मेवारी दिएमा पार्टी संगठनलाई अझ मजबुत बनाउन र जनताका आवाजलाई प्रभावकारी रूपमा उठाउन प्रतिबद्ध रहेको बताएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार