काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) का अध्यक्ष विनोद श्रेष्ठले यातायात क्षेत्रमा विद्यमान समस्याहरूको समाधानका लागि सरकार, व्यवसायी र श्रमिकबीचको त्रिपक्षीय सहकार्य र एकतामा जोड दिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यकारिणी समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सो धारणा व्यक्त गरेका हुन् । अध्यक्ष श्रेष्ठले यातायात क्षेत्रमा हाल ६० प्रतिशतभन्दा बढी स्वरोजगारको स्थिति रहेको जानकारी दिए । पछिल्लो समय ‘प्लेटफर्म इकोनोमी’ का रूपमा उदाएका राइड शेयरिङ लगायतका सेवाहरूले यातायात क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई नयाँ ढङ्गबाट वर्गीकरण गरी व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष श्रेष्ठले व्यवसायी र श्रमिक पक्षबीचको सम्बन्ध सुदृढ बन्दै गएको चर्चा गर्दै अब सरकारले पनि यस क्षेत्रलाई व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्ने बताएका छन् । यातायात क्षेत्रका समस्या समाधानका लागि व्यवसायीहरूलाई आग्रह–पूर्वाग्रह त्यागेर एकतावद्ध हुन उनले आह्वान गरेका छन् । केवल माग मात्र राख्ने परिपाटीभन्दा पनि ती मागहरू सम्बोधन गराउने तहसम्म पुग्नका लागि व्यवसायीहरूमा साहस र एकता हुनुपर्ने उनको तर्क थियो ।
उनले भने, ‘त्रिपक्षीयताको कुरा गरिरहँदा अहिले दुई पक्षबीचको सहकार्य धेरै हदसम्म स्थापित भइसकेको छ । अझ अहिले ६० प्रतिशतभन्दा बढी स्वरोजगारको अवस्था रहेको छ । यसैबीच, प्लेटफर्म इकोनोमी र राइड–सेयरिङजस्ता नयाँ अभ्यासहरू पनि यातायात क्षेत्रमा प्रवेश गरिरहेका छन् । यातायात क्षेत्रलाई नयाँ ढंगबाट वर्गीकरण गर्ने र व्यवस्थापन गर्ने विषयमा पनि बहस भइरहेको छ । यस्ता परिवर्तनलाई कसरी व्यवस्थित रूपमा अगाडि बढाउने भन्ने विषयमा हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता छ । मलाई लाग्छ, अहिले व्यवसायी, श्रमिक, ट्रेड युनियन तथा स्वरोजगार सबै पक्षहरू समान रूपमा अघि बढिरहेका छन्। यदि यी पक्षहरूबीच अझ सुदृढ सहकार्य हुने र सरकारले पनि आवश्यक नीतिगत व्यवस्थापन गर्ने हो भने, यो क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिन्छ । त्यसका लागि विशेष गरी व्यवसायी साथीहरूको एकता अझ मजबुत हुन आवश्यक छ । मेरो विश्वास के छ भने, केवल माग राखेर मात्र सबै समस्या समाधान हुँदैनन् । ती मागहरू कार्यान्वयन गर्ने निर्णय तहसम्म पुग्नका लागि पनि साहस, नेतृत्व र सक्रिय भुमिका आवश्यक हुन्छ । त्यसैले व्यवसायी साथीहरू एकताबद्ध भएर नहच्किकन अघि बढ्नुपर्छ । तपाईंहरूले यातायात क्षेत्रका समस्या समाधान गर्न सक्षम नेतृत्व चयन गर्नुभएको छ । अब यो नेतृत्वलाई सफल बनाउन र क्षेत्रको समग्र विकासका लागि सबैले एकतावद्ध भएर सहयोग गर्न म पुनः आग्रह गर्न चाहन्छु ।’
नवनिर्वाचित नेतृत्वलाई सफल बनाउन सम्पूर्ण व्यवसायीहरूको साथ र सहयोग आवश्यक रहने बताउँदै अध्यक्ष श्रेष्ठले सबल नेतृत्वले मात्रै समग्र यातायात क्षेत्रको हितमा काम गर्नसक्ने विश्वास व्यक्त गरेका छन् ।

