काठमाडौं । चम्पा अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग आफ्नो सम्बन्ध अन्त्य गर्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा पार्टी नेतृत्वको कार्यशैली, वैचारिक दिशाहीनता तथा संगठन सञ्चालनप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
अधिकारीले पार्टी नेतृत्वले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएकी छन्। उनका अनुसार नेतृत्वमा लोकतान्त्रिक संस्कार कमजोर बन्दै गएको छ भने निर्णय प्रक्रियामा एकपक्षीय प्रवृत्ति हाबी भएको देखिएको छ।
राजीनामा पत्रमा उनले राप्रपाले उठाउँदै आएको सनातन हिन्दू धर्म, राजसंस्था र राष्ट्रवादजस्ता मूल मुद्दाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको उल्लेख गरेकी छन्। नेतृत्वले ती विषयलाई केवल चुनावी नाराका रूपमा प्रयोग गरेको तर व्यवहारमा प्राथमिकता नदिएको उनको आरोप छ।
पछिल्लो निर्वाचन परिणामप्रति पनि अधिकारीले असन्तुष्टि जनाएकी छन्।

