काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तिब्र विकाससँगै पार्टीको प्रचार शैली रक्षात्मक (डिफेन्सिभ) बन्दै गएको स्वीकार गरेका छन् । सोमवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
महासचिव पोखरेलले विगतमा प्रचारको काममा प्रभावकारी देखिएको पार्टी हालका दिनमा केही पछि परेको उल्लेख गरे । पार्टीका कार्यकर्ताहरू प्रविधिको प्रयोगकर्ता मात्र भएको तर दक्ष हुन नसकेको उनको ठम्याइ छ । उनले सामग्री निर्माण (कन्टेन्ट क्रिएसन) र लोकप्रिय डिजिटल प्लेटफर्महरूको अधिकतम उपयोगमा देखिएको खाडललाई पुर्नुपर्नेमा जोड दिए । पार्टीको प्रचार संयन्त्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
उनले भने, ‘पहिले हामी प्रचारको काममा प्रभावकारी थियौं, तर पछिल्लो समय प्रचारको काममा हामी अलिकति रक्षात्मक (डिफेन्सिभ) भएका छौँ । यसको कारण के हो भन्ने कुरा पनि स्पष्ट नै छ । खासगरी सूचना प्रविधिको जति विकास हुँदै गएको छ, सूचना प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गर्ने नयाँ पुस्ताको प्रभाव पनि त्यति नै बढ्दै गएको छ । नयाँ पुस्ताको सहभागिता हामीसँग तुलनात्मक रूपमा कम छ । जससँग त्यो पुस्ताको सहभागिता बढी छ, ऊ बढी प्रभावकारी छ। जससँग कम छ, ऊ कम प्रभावकारी छ । सोझो अर्थमा बुझ्ने हो भने, प्रविधिलाई दक्षतापूर्वक प्रयोग गर्नसक्ने नयाँ पुस्ताको सहभागिता हामीसँग अपेक्षाकृत कम छ । हामीले सूचना प्रविधिको प्रयोग त गरिरहेका छौं, तर पर्याप्त दक्षतासाथ गर्न सकेका छैनौँ । अहिले हामी सूचना प्रविधि प्रयोग गरिरहेका छौं, सामाजिक सञ्जालमा संलग्न छौँ अथवा त्यसलाई परिचालन गरिरहेका छौँ । तर एक अर्थमा भन्ने हो भने हामी केवल प्रयोगकर्ता मात्र हौँ । त्यस क्षेत्रमा आवश्यक दक्षता हामीसँग पर्याप्त छैन । त्यसैले हामी कम प्रभावकारी भएका छौं। जो दक्ष छ, उही बढी प्रभावकारी हुन्छ । यस्तो अवस्थामा स्वाभाविक रूपमा क्षमता भएका युवाहरूलाई प्रचारको काममा जोड्ने वा स्वयंले आवश्यक दक्षता हासिल गर्ने कुरा आजको आवश्यकता हो भन्ने मलाई लाग्छ। दक्ष व्यक्तिलाई पनि जोड्न नसक्ने र आफैंले पनि दक्षता हासिल गर्न नसक्ने हो भने प्रचारको काम प्रभावकारी हुन सक्दैन भन्ने मेरो बुझाइ छ । त्यस अर्थमा, अहिलेको मुख्य ग्याप कहाँ छ भने प्रविधिको प्रयोग गर्ने क्षमतामा छ। आजभोलिको भाषामा भन्ने हो भने, सामग्री निर्माण गर्ने र त्यसलाई प्रभावकारी रूपमा संप्रेषण गर्ने प्लेटफर्मको उपयोगमा ग्याप छ। किनभने लोकप्रिय प्लेटफर्महरू हामीसँग कम छन् । जसका हातमा लोकप्रिय प्लेटफर्महरू छन्, तिनकै माध्यमबाट धेरै सूचना र विचारहरू जनतासम्म पुगिरहेका छन् । त्यस अर्थमा सामग्री निर्माण गर्ने तथा लोकप्रिय प्लेटफर्महरूको अधिकतम उपयोग गर्ने क्षमता जसले विकास गर्नसक्छ, उसले नै आजको सूचना–सञ्चारको क्षेत्रमा, विशेष गरी सामाजिक सञ्जालमा, आफ्ना विचारहरूलाई प्रभावकारी ढंगले प्रश्तुत गर्नसक्छ भन्ने मलाई लाग्छ । त्यसैले यो पक्षमा हामीले विशेष ध्यान दिनुपर्छ भन्ने मेरो धारणा छ ।’
यसअघि प्रचार विभागको नेतृत्वले गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा नयाँ रणनीतिका साथ अघि बढ्न उनले निर्देशन समेत दिएका छन् ।

