दक्षिण कोरिया र चेक रिपब्लिकबीच हेर्नलायक घमासान, पुनरागमन जितमा कोरिया सफल

काठमाडौं । २०२६ फिफा विश्वकपमा दक्षिण कोरिया र चेक रिपब्लिकबीच भएको रोमाञ्चक प्रतिस्पर्धाले दर्शकलाई अन्तिम मिनेटसम्म बाँधेर राख्यो। उतारचढावपूर्ण खेलमा दक्षिण कोरियाले शानदार पुनरागमन गर्दै चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ।

पहिलो हाफ दुवै टोलीले सतर्क खेल प्रस्तुत गर्दा गोलरहित बराबरीमा सकिएको थियो। चेक रिपब्लिकले रक्षात्मक संगठनमा ध्यान केन्द्रित गरेको थियो भने दक्षिण कोरियाले बल नियन्त्रणमार्फत अवसर सिर्जना गर्ने प्रयास गरिरहेको थियो। दुवै टोलीले केही राम्रा अवसर पाए पनि गोल गर्न सफल भएनन्। दोस्रो हाफ सुरु भएपछि खेल थप आक्रामक बन्यो। ५९औँ मिनेटमा चेक रिपब्लिकका कप्तान लाडिस्लाभ क्रेजीले उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उक्त गोलपछि चेक समर्थकहरू उत्साहित बनेका थिए र खेल उनीहरूको पक्षमा मोडिने संकेत देखिएको थियो। तर दक्षिण कोरियाले दबाबमा पनि संयम गुमाएन।

टोलीका मिडफिल्डर ह्वाङ इन बीम ले ६७औँ मिनेटमा व्यक्तिगत कौशल प्रदर्शन गर्दै शानदार गोल गरे र खेललाई बराबरीमा ल्याए। उनको गोलले दक्षिण कोरियाली टोलीमा नयाँ ऊर्जा थप्यो।बराबरीपछि दक्षिण कोरियाले लगातार आक्रमण जारी राख्यो। कप्तान सन ह्युङ९मिन र सृजनशील मिडफिल्डरली काङ इनको उत्कृष्ट समन्वयले चेक रक्षापंक्तिमाथि दबाब बढ्दै गयो। खेलको ८०औँ मिनेटमा वैकल्पिक खेलाडी ओह ह्योन ग्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २–१ को अग्रता दिलाए।खेलभर दक्षिण कोरियाको मध्यपंक्ति प्रभावशाली देखियो। विशेषगरी ह्वाङ इन९बोमले एक गोल र एक गोलको अवसर सिर्जना गर्दै खेलको दिशा परिवर्तन गरे। उनी खेलका उत्कृष्ट खेलाडी बने। अर्कोतर्फ, चेक रिपब्लिकका कप्तान क्रेज्चीले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

दक्षिण कोरियाको जितको मुख्य आधार तीव्र पासिङ, बलमाथिको नियन्त्रण र दोस्रो हाफमा देखिएको आक्रामक सोच रह्यो। चेक रिपब्लिकले सुरुआती अग्रता जोगाउन नसक्दा महत्वपूर्ण अंक गुमाउन बाध्य भयो।यो नतिजासँगै दक्षिण कोरियाले विश्वकप अभियानमा महत्वपूर्ण तीन अंक जोडेको छ। रोमाञ्चक प्रतिस्पर्धाले विश्वकपको प्रारम्भिक चरणमै फुटबलप्रेमीलाई उच्चस्तरीय मनोरञ्जन प्रदान गरेको छ भने दक्षिण कोरियाले आफूलाई समूह चरणको बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार