विश्वकप हेर्न निस्किएका एन्फा नेतृत्व विमानस्थलमै किन रोकिए ?

काठमाडौं । फिफा विश्वकप फुटबल अवलोकनका लागि अमेरिका हुँदै मेक्सिको जाने तयारीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

मंगलबार बिहान विदेश प्रस्थान गर्ने क्रममा अध्यागमन कार्यालयले दुवै पदाधिकारीलाई यात्रा अनुमति नदिएको हो। अध्यागमन स्रोतका अनुसार उनीहरू हाल विदेश यात्रा निषेध सूची (ब्ल्याक लिस्ट) मा रहेकाले प्रस्थान प्रक्रिया अघि बढ्न सकेन।

विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अधिकारीले दुवै जनालाई कालोसूचीमा समावेश गरिएको कारण विदेश जान नदिइएको जानकारी दिएका छन्।

यसअघि एन्फाको आर्थिक गतिविधिसम्बन्धी विषयमा भइरहेको छानबिनलाई आधार बनाएर राष्ट्रिय खेलकुद परिषद (राखेप) को सिफारिसमा अध्यागमन विभाग ले गत वैशाखदेखि एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो।

विश्वकप २०२६ हेर्न जाने उद्देश्यका लागि उक्त प्रतिबन्ध हटाइदिन आग्रह गर्दै अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए। तर राखेपले विदेश यात्रामाथिको रोक फुकुवा गर्न अस्वीकार गरेपछि उनीहरूको यात्रा योजना प्रभावित भएको हो।

यस घटनाले एन्फाभित्र जारी आर्थिक अनियमिततासम्बन्धी अनुसन्धान र त्यसका प्रभावबारे फेरि चर्चा सुरु भएको छ।

सम्बन्धित समाचार

ताजा समाचार