काभ्रे बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ८ पुग्यो

काभ्रे । काभ्रे जिल्लाको बुच्चाकोट क्षेत्रमा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। दुर्घटनास्थलमा बसमुनि च्यापिएको अवस्थामा थप एक जनाको शव फेला परेपछि मृतकको संख्या बढेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार हालसम्म ४ पुरुष र ४ महिलाको मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार