काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको आसन्न चीन भ्रमणलाई लिएर कूटनीतिक तयारी तीव्र बनाइएको छ। परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा भ्रमणको घोषणा नगरे पनि चीनस्थित नेपाली दूतावासले आवश्यक कार्यक्रम व्यवस्थापन र समन्वयलाई अन्तिम रूप दिन थालेको छ।
निर्धारित कार्यतालिकाअनुसार मन्त्री खनाल जेठ ३१ गते बिहान बेइजिङ पुग्नेछन्। सोही दिन साँझ त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। भ्रमणको दोस्रो दिन असार १ गते उनले चाइना एकेडेमी अफ साइन्सका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा राजनीतिक तथा कूटनीतिक भेटघाटलाई विशेष महत्व दिइएको छ। मन्त्री खनालले चीनका विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्नेछन्। द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य र साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
असार २ गते साँझ आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुँदै मन्त्री खनालले नेपालमा चिनियाँ लगानीका अवसर र प्राथमिकताका क्षेत्रबारे धारणा राख्नेछन्। नेपालले पूर्वाधार, उद्योग तथा ऊर्जा क्षेत्रमा थप लगानी आकर्षित गर्ने प्रयास गरिरहेको सन्दर्भमा यो कार्यक्रमलाई महत्वपूर्ण मानिएको छ।
भ्रमणका क्रममा सीमा सम्बन्धी संवेदनशील विषयहरू पनि उठ्ने संकेत देखिएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित नेपालको धारणा चिनियाँ पक्षसमक्ष राख्ने तयारी गरिएको स्रोतहरूको भनाइ छ।
यस्तै, चीनले नेपाल सरकारको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी वर्तमान दृष्टिकोणबारे जानकारी लिन चासो देखाएको बताइएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला सहमति भएका टोखा–छहरे सुरुङमार्ग, जिलोङ–काठमाडौं रेलमार्ग तथा औद्योगिक पार्कलगायत परियोजनाको प्रगति र कार्यान्वयन अवस्थाबारे पनि विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
यस भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आर्थिक एवं पूर्वाधार सहकार्यलाई नयाँ गति दिने अवसरका रूपमा हेरिएको छ।

