काठमाडौं । सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै जनकपुरमा पत्रकारहरुले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघको आह्वान तथा धनुषा शाखाको अगुवाईमा बुधवार पत्रकारहरुले जिल्ला प्रशासन कार्यलय अगाडी एक घण्टा धर्ना दिएका हुन् ।
पत्रकारहरुले मिडियाविरोधी नीति फिर्ता लिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्ने तथा पत्रकारहरुको सुरक्षाको ज्ञारेन्टी सरकारले गर्नुपर्ने लगायतका माग राखेका छन् । धर्नामा सहभागी पत्रकार पूर्ण साहले सरकारको विभेदकारी विज्ञापन नीतिले श्रमजिवी पत्रकारहरु समस्यामा परेको बताए । संचारमाध्याममा विज्ञापन कटौती हुँदा पत्रकारहरुको रोजगारी नै गुमेको उनको भनाई छ । सरकारले सञ्चारमाध्यमलाई प्रवद्र्धन गर्नुपर्नेमा उल्टो नियन्त्रण गर्न खोजेको उनको आरोप छ ।
पत्रकार शंकर सिंहले संघिय सरकार पत्रकारहरुसंग डराएको बताए । पत्रकारदेखि डराएर संघिय सरकारले निजी सञ्चारमाध्यामलाई बन्द गर्ने रणनीतिमा लागेको उनको आरोप छ । तर सरकारको निर्णय विरुद्ध शान्तिपूर्ण रुपमा निरन्तर आन्दोलन गरिरहने उनले बताए । उहाँले विश्वमा कहीँ पनि विज्ञापन नीतिमा बन्देज नरहेको बताए ।
सरकारले सरकारी विज्ञापन निजी संचारमाध्याममा दिन रोक लगाएपछि पत्रकार महासंघ तथा मिडिया सञ्चालकहरुले आन्दोलनका कार्यक्रम जारी राखेका छन् । नेपाल पत्रकार महासंघले सरकारले विभेदकारी निर्णय फिर्ता नलिएसम्म आन्दोलन गर्ने जनाएको छ ।

