कोडेभर ७.०ः विश्वस्तरको एआई तथा रोबोटिक्स प्रतियोगितामा ६ नेपाली टोलीलाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मानिने कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ तथा रोबोटिक्स प्रतियोगिता ‘कोडेभर ७.०’ मा सहभागी भइ जित निकालेका नेपाली विद्यार्थीलाई निमा फाण्डेशनले सम्मान गरेको छ ।
इण्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा आयोजित उक्त प्रतियोगितामा नेपालका ६ वटा टोलीले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका थिए । काठमाडौंमा एक कार्यक्रम गरी फाण्डेशनले सम्मान गरेको हो । ७० भन्दा बढी देशका प्रतिष्पर्धीहरू सहभागी रहेको उक्त प्रतियोगितामा नेपालबाट ९ वटा टोलीले भाग लिएका थिए । पुरस्कृत ६ टोलीबाहेक अन्य ३ नेपाली टोली पनि विश्वका उत्कृष्ट ३० भित्र स्थान बनाउन सफल भएका छन् । ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीका लागि आयोजना गरिएको यस वार्षिक अन्तर्राष्ट्रिय प्रविधि प्रतियोगितामा नेपाली विद्यार्थीले असुरक्षित खानेपानी, वायु प्रदूषण, स्मार्ट कृषि र औषधि व्यवस्थापन जस्ता गम्भीर र समसामयिक विषयमा आधारित नवप्रवर्तनात्मक परियोजनाहरू प्रश्तुत गरेका थिए ।
प्रतियोगितामा एसिया प्यासिफिक स्कुल, रिलायन्स पब्लिक स्कुल, डेजी बोर्डिङ इङ्गलिस सेकेन्डरी स्कुल र स्किल्सअप ग्लोबलसँग आबद्ध विद्यार्थीले विभिन्न विधामा पुरस्कार प्राप्त गरेका हुन् । नेपाली विद्यार्थीलाई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (एसडिजी) अनुरूप प्रविधिमा आधारित समाधानहरू विकास गर्न निमा एजुकेसन फाउण्डेसनले प्रोत्साहन र सहयोग गर्दै आएको छ । यसैबीच, नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको गौरवमय उपलब्धिको सम्मान गर्दै स्किल्सअप ग्लोवलले समेत सम्मान गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार