जेनजी आन्दोलन छानबिन आयोगकै अध्यक्षमाथि अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्की स्वयं राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान सिफारिसमा परेका छन्।

मानवअधिकार आयोगले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा पूर्वन्यायाधीश कार्कीमाथि पनि अनुसन्धान अघि बढाउन सरकारलाई सुझाव दिएको उल्लेख छ।

आन्दोलनका क्रममा कार्कीले सामाजिक सञ्जालमा लेखेका केही अभिव्यक्तिलाई लिएर यसअघि नै विवाद उत्पन्न भएको थियो। ती अभिव्यक्ति उत्तेजक र अतिरञ्जित रहेको आरोप लाग्दै आएको थियो। पछि उनलाई नै आन्दोलनको घटनाबारे छानबिन गर्ने आयोगको नेतृत्व दिइएपछि निर्णयमाथि प्रश्न उठेको थियो।

मानवअधिकार आयोगले आन्दोलनका बेला हिंसा भड्काउने तथा भीडलाई उक्साउने गतिविधिमा भूमिका खेलेको आशंकामा कार्कीसहित केही व्यक्तिलाई अनुसन्धानको दायरामा राख्न सिफारिस गरेको जनाएको छ।

आयोगले राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदन र सम्बन्धित व्यक्तिहरूको सामाजिक सञ्जाल गतिविधिको अध्ययनपछि उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई थप उत्तेजित बनाउन सहयोग पुगेको विषयमा विभिन्न तहबाट टिप्पणी आएको निष्कर्ष निकालेको छ।

सम्बन्धित समाचार

ताजा समाचार