कांग्रेस–एमाले सहकार्य संकटमा ? वाम एकताको संकेतले बढायो तरंग

काठमाण्डौ । भक्तपुरको गुण्डुस्थित निवासमा आराम गरिरहेका केपी शर्मा ओली लाई भेट्न मंगलबार साँझ नेपाली कांग्रेसका उपसभापति बिश्व प्रकाश शर्मा  र सह–महामन्त्री उदय   शमसेर राना  पुगे । बाहिरबाट हेर्दा यो केवल “स्वास्थ्य अवस्था बुझ्ने” भेटजस्तो देखिए पनि, भेटभित्र भने आगामी सत्ता समीकरण, प्रदेश सरकार हेरफेर र वाम ध्रुवीकरणसम्मका संवेदनशील राजनीतिक विषयमा गम्भीर छलफल भएको स्रोतहरूको दाबी छ ।

पित्तथैलीको शल्यक्रियापछि आराम गरिरहेका ओलीलाई भेट्न कांग्रेसका शीर्ष नेताहरू गुण्डु पुग्नु सामान्य शिष्टाचार मात्र नभएको एमाले र कांग्रेस दुवैतर्फका नेताहरू स्वीकार्छन् । स्रोतका अनुसार भेटमा संसद् छलेर ल्याइएका अध्यादेश, सरकारको नीति तथा कार्यक्रम, प्रधानन्यायाधीश सिफारिसदेखि प्रदेश सरकारहरूको आलोपालोसम्मका विषय उठेका थिए ।

प्रदेश सरकार फेरबदलको ‘काउन्टडाउन’

गत असारमा भएको सात बुँदे सहमतिअनुसार कांग्रेस र एमालेबीच संघ र प्रदेशमा सत्ता साझेदारी अगाडि बढाइएको थियो । सोही सहमतिअनुसार अब केही प्रदेशमा नेतृत्व फेरबदल गर्ने समय नजिकिएको कांग्रेसको बुझाइ छ ।

कांग्रेस नेताहरूका अनुसार अब कोशी, लुम्बिनी र कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने अवस्था आएको छ भने बागमती, गण्डकी र सुदूरपश्चिम एमालेको भागमा पर्ने सहमति थियो ।

तर पछिल्लो समय एमाले नेतृत्व पूर्वसहमति कार्यान्वयनमा अनिच्छुक देखिएको भन्दै कांग्रेसभित्र शंका बढ्न थालेको छ । विशेषगरी सुदूरपश्चिममा सरकार परिवर्तनको माग लिएर गुण्डु पुगेका एमाले नेताहरूलाई तत्काल कुनै निर्णय नहुने संकेत दिएर फर्काइएपछि कांग्रेस थप सशंकित बनेको बताइन्छ ।

कांग्रेस किन डराउन थाल्यो ?

कांग्रेस नेताहरूलाई अहिले सबैभन्दा बढी चिन्ता एमाले र पुष्प कमल दाहाल नेतृत्वको नेकपाबीच बाक्लिँदै गएको संवादले दिएको छ ।पछिल्ला हप्ताहरूमा प्रचण्डले सार्वजनिक कार्यक्रममै “वाम एकता” को आवश्यकता जोडतोडले उठाइरहेका छन् । नेकपाको केन्द्रीय कार्य संयोजन समितिले समेत वाम ध्रुवीकरणलाई प्राथमिक एजेण्डा बनाएको छ ।यति मात्र होइन, नेकपाका वरिष्ठ नेता नारायण काजी श्रेष्ठ  गुण्डु पुगेर ओलीसँग संवाद गरिसकेका छन् । ओली र प्रचण्डबीच प्रत्यक्ष टेलिफोन संवाद भइरहेको चर्चाले पनि कांग्रेसभित्र असहजता बढाएको छ ।कांग्रेसका एक पदाधिकारी भन्छन्, “एमाले दोहोरो भूमिकामा देखिएको छ । एकातिर कांग्रेससँग सत्ता सहकार्य, अर्कोतिर वाम एकताको तयारी भइरहेको संकेत पाइन्छ ।”

यदि वामपन्थी फेरि मिले भने‘

राजनीतिक वृत्तमा अहिले सबैभन्दा ठूलो प्रश्न यही बनेको छ — एमाले र नेकपा फेरि एउटै मोर्चामा आए के हुन्छ ?संख्यात्मक हिसाबले हेर्दा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा कम्युनिस्ट गठबन्धनले सहजै सरकार बनाउन सक्ने अवस्था छ । विशेषगरी कर्णाली र सुदूरपश्चिममा कांग्रेसलाई बाहिर राखेर नयाँ सत्ता समीकरण बन्ने सम्भावना बलियो देखिन्छ ।

कोशीमा एमाले र नेकपा मिल्दा स्पष्ट बहुमत पुग्छ । गण्डकीमा पनि दुई दलको जोड सहजै सरकार गठनका लागि पर्याप्त हुन्छ । कर्णालीमा एमाले–नेकपा गठबन्धनले सजिलै सरकार बनाउने अंकगणित देखिन्छ भने सुदूरपश्चिममा पनि कम्युनिस्ट समीकरण निर्णायक बन्न सक्छ ।तर बागमती र लुम्बिनीमा भने एमाले–नेकपा मिलेर मात्र बहुमत पुग्दैन । मधेश प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार तत्काल संकटमा पर्ने अवस्था देखिँदैन ।

गगन नेतृत्वको रणनीति

विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्व सम्हालेका गगन थापा प्रदेश सरकारहरूमा एमालेसँगको सहकार्यलाई तत्काल निरन्तरता दिने पक्षमै रहेको बुझिन्छ । प्रदेशमा भागबण्डा जोगाउन सक्दा कांग्रेसलाई दीर्घकालीन राजनीतिक लाभ हुने विश्लेषण पार्टीभित्र छ ।तर कांग्रेसभित्र अब एउटा गम्भीर प्रश्न उठ्न थालेको छ — एमाले अन्तिमसम्म कांग्रेससँगै रहनेछ, कि फेरि वाम ध्रुवीकरणतर्फ फर्किनेछ ?

गुण्डुमा भएको पछिल्लो भेटले नेपाली राजनीतिमा फेरि एकपटक नयाँ तरंग पैदा गरेको छ । सत्ता समीकरणको केन्द्रमा अहिले फेरि एउटै प्रश्न घुमिरहेको छ — “कांग्रेस–एमाले सहकार्य टिक्छ, कि वाम एकताको नयाँ अध्याय सुरु हुन्छ ?

सम्बन्धित समाचार

ताजा समाचार