एसइई नतिजा छिटो आउँदा विद्यार्थीमा उत्साह, बोर्डमाथि बढ्यो दबाब

काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०८२ को नतिजा वैशाख २९ गतेभित्रै सार्वजनिक गर्ने तयारीसँगै लाखौं विद्यार्थी र अभिभावकमाझ उत्साहसँगै कौतुहल पनि बढेको छ। विगतमा तीन महिनासम्म प्रतीक्षा गर्नुपर्ने नतिजा यसपटक एक महिनामै आउने भएपछि शिक्षा क्षेत्रमा नयाँ अभ्यास सुरु भएको चर्चा छ।

राष्ट्रिय परीक्षा बोर्डले समयमै नतिजा निकाल्न तीव्र रूपमा काम गरिरहेको जनाएको छ। परीक्षा नियन्त्रक तुकराज अधिकारीका अनुसार उत्तरपुस्तिका परीक्षण, तथ्यांक इन्ट्री र ‘रिभ्यू’ प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ। यसपटकको विशेषता भनेको परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका जाँच र तथ्यांक इन्ट्री सँगसँगै अघि बढाइनु हो।

अघिल्ला वर्षहरूमा उत्तरपुस्तिका विभिन्न केन्द्रमा पठाउने, पुनः संकलन गर्ने र इन्ट्री गर्नै लामो समय लाग्ने गरेको थियो। तर यसपालि परीक्षा केन्द्रमै कापी जाँच गरिएकाले प्रक्रिया छोटिएको बोर्डले जनाएको छ। छिटो नतिजा आउने भएपछि विद्यार्थीहरूमा कक्षा ११ को भर्ना, विषय छनोट र भविष्यको योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ। धेरै विद्यार्थी विदेश अध्ययनको तयारीमा समेत रहने भएकाले नतिजा ढिलो हुँदा उनीहरूको शैक्षिक तालिका प्रभावित हुने गरेको थियो। तर नतिजा सार्वजनिक गर्ने समय घटेसँगै बोर्डमाथि दबाब पनि बढेको छ।

छिटो काम गर्ने क्रममा त्रुटि नहोस्, प्राप्ताङ्कमा गल्ती नआओस् र उत्तरपुस्तिका हराउने जस्ता समस्या नदोहोरिऊन् भन्ने चुनौती बोर्डसामु छ।बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार कर्मचारीहरू बिहानदेखि साँझसम्म निरन्तर खटिएका छन्। समयमै नतिजा सार्वजनिक गर्न अतिरिक्त जनशक्ति समेत परिचालन गरिएको उनले बताए।शिक्षा क्षेत्रका जानकारहरू भने यसलाई केवल “छिटो नतिजा” भन्दा पनि परीक्षा प्रणालीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने अवसरका रूपमा हेरिरहेका छन्। यदि यो अभ्यास सफल भयो भने आगामी वर्षहरूमा पनि एसइई नतिजा छोटो अवधिमै सार्वजनिक हुने सम्भावना बलियो बन्नेछ।

सम्बन्धित समाचार

ताजा समाचार