काठमाण्डौ ।टुक्रा–टुक्रामा विभाजित हुँदै कमजोर बनेको नेपाली वाम राजनीति फेरि एकपटक “पुनःएकीकरण” को नारासहित अघि बढ्ने संकेत देखिएको छ। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी मङ्सिरको दोस्रो हप्तामा एकता महाधिवेशन गर्ने घोषणा गर्दै जेठ मसान्तभित्र सबै घटकसँगको एकीकरण र समायोजन प्रक्रिया टुंग्याउने तयारी गरेको छ।पछिल्ला वर्षहरूमा लगातार फुट, अविश्वास र सत्ता संघर्षका कारण जनआधार कमजोर बन्दै गएको अवस्थामा नेकपाले अब संगठन “शुद्धीकरण” र “पुनर्निर्माण” को बाटो समात्ने संकेत दिएको हो।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन ९अपानी–३० मा पार्टीलाई जनतासँग प्रत्यक्ष जोडिएको “क्रान्तिकारी कम्युनिस्ट शक्ति” का रूपमा पुनर्गठन गर्ने लक्ष्य उल्लेख गरिएको छ।तर यसपटकको सबैभन्दा चासोको विषय भनेको युवा पुस्तालाई प्राथमिकता दिने घोषणा बनेको छ। नेकपाले वडादेखि केन्द्रसम्मका सबै समितिमा युवा तथा नवयुवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याउने योजना अघि सारेको छ। लामो समयदेखि पुरानै अनुहारको नियन्त्रणमा रहेको वाम राजनीतिमा यो घोषणालाई पुस्तान्तरणको संकेतका रूपमा हेरिएको छ।साथै पार्टीले नेता–कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि विशेष अभियान चलाउने बताएको छ।
यसले भ्रष्टाचार, सुविधा–केन्द्रित राजनीति र सत्तामोहका कारण वाम शक्तिप्रति घट्दो जनविश्वासलाई पुनः फर्काउने प्रयास गरिएको बुझिन्छ।नेकपाले “सिंगो नेपाली कम्युनिस्ट आन्दोलनको पुनःएकीकरण” को एजेन्डा अघि सारेसँगै अन्य वाम दलहरूसँग भविष्यमा सहकार्य वा ध्रुवीकरणको सम्भावना पनि खुला राखेको छ। यद्यपि विगतका कटु अनुभव, नेतृत्वबीचको अविश्वास र सत्ता समीकरणको राजनीति अझै चुनौतीका रूपमा कायम छन्।चैत १९ गते सुरु भएर वैशाख १५ गते सम्पन्न संयोजन समिति बैठकपछि तयार गरिएको अपानी सार्वजनिक भए पनि केही नेताहरूले औपचारिक परिपत्र भने अझै नपुगेको बताएका छन्।
यसले पार्टीभित्र अझै पूर्ण समन्वय स्थापित हुन बाँकी रहेको संकेत गर्छ .यद्यपि, लामो समयदेखि विभाजित वाम राजनीतिबाट निराश बनेका कार्यकर्ता र समर्थकमाझ नेकपाको यो घोषणाले नयाँ बहस सुरु गराएको छ—के यो साँच्चै वैचारिक पुनर्जागरणको प्रयास हो, कि फेरि अर्को सत्ता–केन्द्रित समीकरणको तयारी ?

