काठमाण्डौ । गगन थापाले पछिल्लो समय मुलुकमा बढ्दै गएको राजनीतिक असन्तुष्टि र व्यवस्थामाथिको प्रश्नबीच लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका छन्। उनले लोकतन्त्रभित्र आवश्यक सुधार गर्न कांग्रेस तयार रहेको बताए पनि “भयतन्त्र” र “लहडतन्त्र” स्थापना गर्ने प्रवृत्तिप्रति कडा चेतावनी दिएका हुन्।शनिबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले लोकतन्त्रलाई समाप्त गरेर वैकल्पिक शक्ति वा व्यक्तिवादी शासनतर्फ लैजाने प्रयास मुलुकका लागि घातक हुने धारणा राखे।
उनका अनुसार जनतामा देखिएको असन्तुष्टि व्यवस्थाको अन्त्यका लागि होइन, व्यवस्थाभित्र सुधारको मागका रूपमा बुझिनुपर्छ।“लोकतन्त्रभित्र गरिने सुधारमा हाम्रो पूर्ण सहयोग रहन्छ तर लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको हामी दृढ प्रतिरोध गर्छौं,” थापाको भनाइले कांग्रेसले आगामी राजनीतिक बहसलाई लोकतन्त्रको रक्षा र सुधार दुवैसँग जोडेर अघि बढाउन खोजेको संकेत दिएको छ।उनको अभिव्यक्तिलाई पछिल्लो समय सामाजिक सञ्जाल र सडकबाट उठिरहेका वैकल्पिक राजनीतिक नाराहरूको प्रतिवादका रूपमा समेत हेरिएको छ। थापाले अप्रत्यक्ष रूपमा लोकतान्त्रिक संस्थामाथि अविश्वास पैदा गरेर भावनात्मक राजनीतिमार्फत सत्ता खोज्ने प्रवृत्तिप्रति संकेत गरेका देखिन्छन्। फरक प्रसंगमा उनले कांग्रेसभित्र देखिएको निराशा चिर्न खोज्दै संघीय सरकारमा प्रतिपक्षमा रहे पनि प्रदेश र स्थानीय तहमा पार्टीको उपस्थिति अझै बलियो रहेको दाबी गरे।
सातै प्रदेशमा कांग्रेस सरकारमा सहभागी रहेको, ३३२ पालिकामा प्रमुख जितेको र सबैभन्दा धेरै वडामा कांग्रेसकै प्रतिनिधित्व रहेको उल्लेख गर्दै उनले कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे। “हामी हार्यौं, सकियौं भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। संघमा मात्र हामी प्रतिपक्ष हो,” उनले भने।थापाको यो अभिव्यक्तिले कांग्रेसभित्र संगठनात्मक मनोबल उकास्ने प्रयास मात्र नभई आगामी राजनीतिक समीकरण र चुनावी तयारीतर्फ पनि संकेत गरेको विश्लेषण गरिएको छ। लोकतन्त्रको पक्षमा उभिने तर सुधारको बहसलाई पनि अस्वीकार नगर्ने कांग्रेसको रणनीति अब कसरी व्यवहारमा देखिन्छ भन्ने विषय भने आगामी राजनीतिक घटनाक्रमले तय गर्नेछ।

