काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरु विघटन गरेको छ ।
तोकिएको समयमा महाधिवेशन गर्न नसकेको र अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएको भन्दै कांग्रेसले त्यस्ता सबै भ्रातृ संस्थाहरू विघटन गरेको हो । कांग्रेसले तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्ने समय दिएको थियो ।
साथै २०८२ असार १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो अवधिभित्र कार्यतालिका प्रस्तुत गरेका संघहरूको हकमा कार्यतालिकामा तोकिएको समयसम्म महाधिवेशन गर्ने गरी समयावधि थप गर्ने निर्णय समेत गरेको थियो ।
सहजीकरण गर्न पार्टीले निश्चित कार्यादेशसहित निर्देशक समिति बनाएको थियो तर तरूण दल, नेविसंघ, महिला संघ, दलित संघ, खेलकुद संघलगायत भ्रातृ संघले कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन नगरेको कारण विघटन गरिएको जनाएको छ । त्यसैले अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएकोले म्याद थपिरहनु आवश्यक नरहेको सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय छ ।

