सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले दिएका छन् ।
अहिले सामाजिक सञ्जालको दुरूपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने पनि उनले जानकारी दिए।त्यस्तै निर्वाचन आचार संहिता उल्लंघन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उनको भनाइ छ।
उनका अनुसार निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको छ। निर्वाचन प्रहरीको बीमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको पनि उनले बताएका छन् ।

