भारतको मेघालय राज्यस्थित इस्ट जैन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ। घटनामा नेपाली समेत परेका छन्। खानीभित्र अझै केही मजदुर फसेको आशंका गरिएको छ भने उद्धार कार्य जारी छ। स्थानीय प्रशासनका अनुसार बुधबार बिहान ‘र्याट–होल’ भनिने खतरनाक प्रविधिबाट सञ्चालन भइरहेको खानीमा अचानक विस्फोट भएको हो।
विस्फोटका बेला खानीभित्र दर्जनौं मजदुर काम गरिरहेका थिए। विस्फोटपछि खानीभित्र धुवाँ, विषालु ग्यास र पानी भरिएकाले उद्धार कार्य कठिन बनेको जनाइएको छ।घटनाको जानकारी पाउनासाथ प्रहरी, राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोली घटनास्थलमा खटिएका छन्। अहिलेसम्म १८ जनाको शव निकालिएको छ भने केही मजदुर अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। एक जना मजदुर गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ।

