काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट औपचारिक रूपमा राजीनामा दिएका बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन्। राजीनामा बुझाएलगत्तै उनी बनस्थलीस्थित पार्टी मुख्यालय पुगेका हुन्।
बालेनसँगै ‘जेन–जी’ पुस्ताका चर्चित अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका छन्। गुरुङले आजै रास्वपामा प्रवेश गर्ने घोषणा गरेका छन्, जसलाई युवामाझ बढ्दो राजनीतिक सक्रियताको संकेतका रूपमा हेरिएको छ।
बालेनको आगमनसँगै रास्वपा केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको उल्लेख्य भीड देखिएको छ। समर्थकहरूले नाराबाजी र स्वागतसहित उनको स्वागत गरेका छन्।
पार्टी स्रोतका अनुसार बालेन आज केन्द्रीय समिति बैठकमा सहभागी भई प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार र आगामी रणनीतिबारे छलफल गर्ने तयारीमा छन्। बैठकपछि उनी जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ।
जनकपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्न बालेनसँगै रास्वपा सभापति रवि लामिछानेलगायत शीर्ष नेताहरू पनि आजै जनकपुर जाने भएका छन्।

