काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद अब सर्वोच्च अदालतमा प्रवेश गर्ने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा समूह आजै सर्वोच्च अदालत पुगेर कानुनी प्रक्रिया अगाडि बढाउने तयारीमा छ । “आज रिट लिएर सर्वोच्च जाने तयारी भइरहेको छ,” उनले जानकारी दिए ।
शनिबार बसेको देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई राजनीतिक र कानुनी दुवै माध्यमबाट चुनौती दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार कानुनी रणनीति सम्हाल्ने जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।
खड्का हाल कानुन व्यवसायीहरूसँग परामर्शमा जुटिरहेका छन् । रिट तयारीमा वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायत कानुनविद्हरू संलग्न रहेको स्रोतले जनाएको छ ।
उता गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन गरी गगन थापालाई सभापतिमा निर्वाचित गरिसकेका छन् । तर देउवा समूहले भने नियमित महाधिवेशनको मिति तोकिएको अवस्थामा विशेष महाधिवेशनको औचित्यमै प्रश्न उठाउँदै त्यसलाई अस्वीकार गर्दै आएको छ ।
कांग्रेसको आन्तरिक विवाद अब सडक र आयोग हुँदै न्यायालयसम्म पुगेसँगै पार्टीभित्रको शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ ।

