फिर्ता गरिएको हस्ताक्षर हामीलाई मान्य छैनः विश्वप्रकाश शर्मा

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवशेनको हस्ताक्षर फिर्ताका बारेमा कपोकल्पित हल्ला फिँजाईएको बताएका छन् ।
आधिकारिकता सम्बन्धि जानकारी दिनका लागि शुक्रवार निर्वाचन आयोगमा पुगेको शर्माले विधिसम्मत रुपमा फिर्ता नभएको हस्ताक्षरलाई खारेज गरिएको बताएका हुन् । उनले २९ जनाले मात्रै समयमा हस्ताक्षर फिर्ता गरेको जानकारी दिए। अन्य साथीहरुको हस्ताक्षर फिर्तालाई नेपाली काँग्रेसको केन्द्रिय समितिले खारेज गरेको उनको दाबी छ । उनले हस्ताक्षर गर्ने र फिर्ता लिने निश्चित समय हुने पनि बताए । महाधिवेशन सकिएर गाउँ फर्किसकेपछि फिर्ता गरिएको हस्ताक्षर आफूहरुलाई मान्य नहुने उनको भनाई छ ।
उनले भने, ‘कसैले हस्ताक्षर गर्नुभएको छ र त्यो फिर्ता लिनुभयो भने अनौठो मान्नु हुँदैन । तर त्यो दर्ता गर्ने एउटा म्याद हुन्छ, फिर्ता गर्नेपनि म्याद हुन्छ । समयाधिभित्र फिर्ता भएका संख्या २९ जना हो । जम्मा २९ जनाले मात्रैले यसबीचमा विशेष महाधिवेशनको लागी दर्ता गरेपछि फिर्ता गरेका हुन् । लोकतन्त्रमा उम्मेद्वार दर्ता र फिर्तासम्बन्धि विधि हुन्छ । संसदीय पद्धतिमा विश्वास गर्ने कांग्रेस र काँग्रेसका सदस्यमा त्यसमा विश्वास गछौँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यलयबाट हस्ताक्षर गर्ने साथीहरुको हस्ताक्षर सनाखत गराईएको भए, सनाखत गरेको बेलमा कुनै साथीले फिर्ता गर्नुभएको भए, निर्वाचन आयोगले त्यसलाई नगरेको भन्ने बुझ्ने हुन्थ्यो । विशेष अधिवेशन चलिरहेको बेलामा पनि फिर्ता लिएको भए, फिर्ता मान्न मिल्थ्यो । प्रक्रिया शुरु हुन्छ, प्रक्रिया सकिन्छ, त्यसपछि गाउँ फर्किसकेको कोही साथीको नाम चाहीँ अचानक हस्ताक्षर फिर्ता भनेर आउँछ भने त्यसलाई मैले धेरै टिप्पणी गर्न चाहन्न । तर यो युक्ति संगत विल्कुल होईन । त्यो कपोकल्पित छ, पुर्णरुपमा खारेजयोग्य छ । म नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको तर्फबाट त्यसलाई खारेज गरिएको जानकारी गराउँछु ।’
नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार