काठमाडौं । युगाण्डामा बिहीवार कडा सुरक्षाका बीच आम निर्वाचन शुरु भएको छ । जसमा २ करोड १० लाखभन्दा बढी मतदाताले राष्ट्रपति र संसदका लागि मतदान गर्दैछन् । राष्ट्रपति र ३५३ प्रत्यक्ष निर्वाचित सांसद चयन गर्न २ करोड १० लाखभन्दा बढी युगान्डाली नागरिकले मतदान गर्ने अपेक्षा गरिएको छ ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, मजदुर र युवा लगायत विशेष समूहको प्रतिनिधित्व गर्ने सांसदहरूको निर्वाचन भने पछि हुनेछ । राजधानी कम्पाला र देशका अन्य केही भागहरूमा बायोमेट्रिक मतदाता प्रमाणीकरण मेसिनमा आएको नेटवर्क समस्याका कारण मतदानमा केही ढिलाइ भएको थियो । वर्तमान राष्ट्रपति योवेरी मुसेभेनीसहित आठ जना उम्मेदवार राष्ट्रपतीय दौडमा छन् । मुसेभेनी सातौँ पटक पाँच वर्षे कार्यकालका लागि प्रतिष्पर्धा गर्दैछन् र मुसेभेनीका मुख्य प्रतिद्वन्द्वी, पप स्टारबाट राजनीतिज्ञ बनेका रोबर्ट क्यागुलान्याले वाकिसो जिल्लाको मगेरेमा मतदान गरे ।
निर्वाचन आयोगकाअनुसार राष्ट्रपति बन्न उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत सुरक्षित गर्नुपर्छ ।

