वार्ता बिनानिष्कर्ष सकिएपछि देउवालाई भेट्न महाराजगञ्ज पुगे कांग्रेस संस्थापन पक्षका नेता

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्ने प्रयासस्वरूप बसेको त्रिपक्षीय वार्ता बिनानिष्कर्ष टुंगिएपछि संस्थापन पक्षका नेताहरू सभापति शेरबहादुर देउवासँग परामर्शका लागि महाराजगञ्ज पुगेका छन्। सभापति देउवाको डेरानिवासमा पुगेका नेताहरूले वार्ताको अवस्थाबारे जानकारी गराउने तयारी गरेका छन्।

बिहान भएको पहिलो चरणको वार्ता ठोस निष्कर्षमा नपुगेपछि दिउँसो पुनः छलफल गर्ने सहमतिसहित बैठक स्थगित गरिएको थियो। त्यसलगत्तै संस्थापन पक्षका नेताहरू देउवालाई भेट्न महाराजगञ्ज पुगेका हुन्।

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी थिए। यस्तै सभापति देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी भए भने शेखर कोइराला समूहबाट जीवन परियार र मिनेन्द्र रिजाल बैठकमा उपस्थित थिए।

पार्टीभित्र एक समूहले विशेष महाधिवेशनको माग गर्दै कार्यक्रम अघि बढाइरहेका बेला अर्को समूह त्यसलाई स्वीकार्न तयार देखिएको छैन। यही मतभेद समाधान गर्न तीनै पक्षका नेताहरू संवादमा जुटेका हुन्। छलफलका क्रममा विशेष महाधिवेशन पक्षधर नेताहरूले महाधिवेशन आह्वान गर्नुपरेको कारण र आफ्नो अडानबारे स्पष्ट पारेका थिए।

सम्बन्धित समाचार

ताजा समाचार