काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो विवादका बीच संस्थापन पक्षले विशेष महाधिवेशन समूहसँग संवाद गर्ने निर्णय गरेको छ । पार्टी विभाजनको सम्भावना देखिएपछि सभापति शेरबहादुर देउवा एकताको पहलमा अघि बढेका हुन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रकै बीच देउवाले आफ्ना निकट नेताहरूसँग छलफल गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई एकताका लागि औपचारिक आह्वान गर्न निर्देशन दिएका छन् ।
संस्थापन पक्षको आन्तरिक छलफलमा पार्टी संकटतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संवादमार्फत समाधान खोज्ने निर्णय भएको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए । उनका अनुसार विशेष महाधिवेशन पक्षसँग छलफल गरी सहमतिको वातावरण बनाउने जिम्मेवारी खड्कालाई दिइएको छ ।
देउवाले कार्यवाहक सभापति खड्कासँगै केन्द्रीय सदस्य रमेश लेखकलाई पनि विशेष महाधिवेशन पक्षका नेताहरूसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका छन् ।
गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति विघटन गर्दै नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव पारित गरिसकेको छ । भृकुटीमण्डपमा प्रतिनिधिहरूको बहुमत सहभागिता भएपछि विशेष महाधिवेशन समूहले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने संकेत दिएको छ ।

