काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आवश्यक गणपूरक संख्या पूरा भइसकेको आयोजक समितिले दाबी गरेको छ । महाधिवेशनमा कुल प्रतिनिधिमध्ये ५१ प्रतिशतले नाम दर्ता गराइसकेको जनाउँदै आयोजकले अब महाधिवेशन वैधानिक रूपमा अघि बढ्ने आधार तयार भएको जनाएको हो ।
महाधिवेशन स्थलमा प्रचार–प्रसार समितिका प्रमुख सुवास पोखरेलले प्रतिनिधिहरूको उपस्थिति क्रमशः बढिरहेको बताएका छन् । उनका अनुसार अझै पनि केही प्रतिनिधि आउने क्रममा रहेकाले यकिन संख्या सार्वजनिक गर्न कठिन रहेको छ ।
पोखरेलले विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अधिकारसमेत राख्ने वैधानिक व्यवस्था रहेकाले यस प्रक्रियाका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने जानकारी दिए ।
उनका अनुसार महाधिवेशन मूलतः एक दिनका लागि तय गरिएको भए पनि नेतृत्व चयनको प्रक्रिया सुरु भएमा कार्यक्रम एकदेखि दुई दिनसम्म लम्बिन सक्ने सम्भावना छ ।

