काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने बताएका छन् । उनले पार्टी फुट्छ कि भनेर आशङ्का नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले पार्टीभित्र एकताको विषयमा उठेका आशंका निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गरेका छन् ।
उनले भने, ‘विधानअनुसार कुनै पनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ। एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ । धेरै पार्टीका साथीहरुले आशंका व्यक्त गर्नुभएको छ। सबैलाई ढुक्क बनाउन चाहन्छु।’
महामन्त्री शर्माले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भए पनि महाधिवेशन गर्न नसकिएको बताएका छन् ।

