काठमाडौं । गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ (चक्रे मिलन) लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। लामो समयदेखि विवाद र आपराधिक आरोपसँग जोडिँदै आएका गुरुङको सिफारिसले राजनीतिक वृत्तमा चर्चा र बहस दुवै जन्माएको छ।
गुरुङले आफू युवाहरू तथा जेनजी पुस्ताको आग्रहका कारण राजनीतिमा अघि बढेको दाबी गरेका छन्। २०५० सालदेखि एमालेमा सक्रिय रहेको बताउँदै उनले समाजसेवामै समर्पित भएको जिकिर गरेका छन्। गोरखाका युवा नेता प्रविण अधिकारीले निस्वार्थ राजनीति गर्ने जो कोहीलाई स्वागत गर्नुपर्ने प्रतिक्रिया दिएका छन्।
तर गुरुङको पृष्ठभूमि विवादरहित छैन। उनीविरुद्ध १२ भन्दा बढी मुद्दा चलेको प्रहरी रेकर्ड छ र पटक–पटक पक्राउ परेर धरौटीमा छुट्दै आएका छन्। महाराजगञ्ज क्षेत्रमा गुण्डागर्दीसँग जोडिएर ‘चक्रे’ नामले परिचित गुरुङ पछिल्लो समय सक्रिय राजनीतिमा देखिँदै आएका छन्।
एमालेको सिफारिसपछि उनीले प्रतिनिधिसभाको टिकट पाउँछन् वा नपाउँछन् भन्ने विषय भने अझै अनिश्चित छ।

