काठमाडौं। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार तत्काल विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने निष्कर्ष निकालेका छन्। १५औँ महाधिवेशन तोकिएको समयमा हुन नसकेपछि अब विशेष महाधिवेशन बाहेक अर्को विकल्प नरहेको उनीहरूको भनाइ छ।
शुक्रबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले महाधिवेशन कांग्रेसको नियमित प्रक्रिया मात्र नभई पार्टीलाई सुदृढ र जनभावनाअनुरूप बनाउने मुख्य आधार भएको बताए। पछिल्लो राजनीतिक अवस्थामा पार्टीलाई गतिशील बनाउन विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरिएको छ।
प्रतिनिधिहरूले विधानले तोकेको समयसीमाभित्र महाधिवेशन हुन नसक्दा स्वतः विशेष महाधिवेशनको व्यवस्था लागू हुने स्मरण गराए। गत असोज २९ मा ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग पेश गरिसकेको भए पनि केन्द्रीय नेतृत्वले बेवास्ता गरेको आरोप उनीहरूको छ।
घोषित कार्यतालिकाअनुसार वडा अधिवेशनसमेत हुन नसकेको र १५औँ महाधिवेशनका कार्यक्रम स्थगित भइसकेकाले अब विशेष महाधिवेशन अनिवार्य भएको उनीहरूको निष्कर्ष छ।
विधानअनुसार २०८२ पौष २८ भित्र विशेष महाधिवेशन हुनुपर्ने भन्दै उनीहरूले आगामी पौष २७–२८ गते आयोजना गर्न केन्द्रीय नेतृत्वसँग पुनः आग्रह गरेका छन्। पार्टी एकता, आन्तरिक लोकतन्त्र र जवाफदेहिता सुदृढ बनाउने अवसरका रूपमा यसलाई लिन उनीहरूको अपिल छ।

