काठमाडौं । नेपाली कांग्रेसले अघिल्ला निर्वाचनमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएका वा विद्रोही गतिविधिमा संलग्न भएका नेता–कार्यकर्तामाथि गरिएको अनुशासन कारबाही माफी दिने निर्णय कार्यान्वयनमा ल्याएको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालयले सबै तहका पार्टी संरचनालाई परिपत्र जारी गरेको हो । सूचनामा वर्तमान राजनीतिक अवस्था र आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनलाई ध्यानमा राख्दै पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउने उद्देश्यले कारबाही माफी गरिएको उल्लेख छ ।
अघिल्ला निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, विद्रोहीलाई समर्थन गरेका, प्रस्तावक वा समर्थक बनेका कारण कारबाहीमा परेकाहरूको बाँकी कारबाही अवधि माफी गरिएको कांग्रेसले जनाएको छ । माफी पाएका व्यक्ति पार्टी विधानअनुसार स्वतः क्रियाशील सदस्यका रूपमा सक्रिय हुन पाउने भएका छन् ।
यस्तै, विगतमा पार्टी परित्याग गरी स्वतन्त्र वा अन्य दलबाट उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा फर्कन आह्वान गरिएको छ । कांग्रेसले बौद्धिक, व्यावसायिक तथा विभिन्न क्षेत्रका लोकतान्त्रिक विचारधाराका व्यक्तिहरूलाई पार्टी पक्षमा सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।
केन्द्रीय कार्यालयले प्रदेशदेखि वडा तहसम्मका सबै कमिटीलाई निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।


