काठमाडौं । नेपाली संगीत क्षेत्रमा निरन्तर हिट गीत दिँदै आएकी चर्चित गायीका एलिना चौहानको नयाँ म्युजिक भिडियो ‘तँलाई मैले छोडेको यस्तै पाराले’ सार्वजनिक भएको छ । भावनात्मक अभिव्यक्ति, मार्मिक कथा र सशक्त प्रस्तुति भएको यस गीतले एलिनाको छुट्टै ब्रान्ड–पहिचानलाई अझ बलियो बनाएको छ।
गीतमा नारीमाथि हुने अपमान, चरित्रहत्या र सामाजिक पूर्वाग्रहलाई मुख्य विषयवस्तु बनाइएको छ। समाजले महिलामाथि धेरैजसो बिना कारण, बिना प्रमाण आरोप लगाउने, शंकाको नजरले हेर्ने र मनोवैज्ञानिक रूपमा दबाब दिने प्रवृत्तिलाई गीतले गहिरोसँग उजागर गरेको छ। “अब हाम्रो हिसाब–किताब छैन, झुकेर नि ल्याङल्याङ गर्ने हैन,” जस्ता बोलहरूमा महिला आत्मसम्मानका लागि उठेको आवाज निकै तीक्ष्ण सुनिन्छ। त्यस्तै, “मेरै गल्ती भने साराले, मैले छोडेको यस्तै पाराले” भन्ने पंक्तिले नारीले सहनु परेको अनुचित आरोप र पीडालाई जस्ताको तस्तै झल्काएको छ ।
भिडियोमा मुख्य मोडलिङ संञ्जय बिश्वकर्मा र प्रिति गुरुङले गरेका छन्। सम्बन्धमा उत्पन्न हुने मनोवैज्ञानिक चोट, अविश्वास र समाजको गलत धारणाले कसरी प्रेमलाई चिरिन्छ भन्ने कथालाई दुबै मोडलले दमदार अभिनयमार्फत प्रभावकारी रूपमा उतारेका छन्। उनीहरूको अभिनयले गीतको भावनात्मक गहिराइलाई थप जीवन्त बनाएको छ।
एलिना चौहानका गीतहरू प्रायः यथार्थ जीवनका पीडा, सामाजिक व्यवहार र नारीको अन्तर्मन बोल्ने खालका हुने गरेका छन्। यसपटक पनि उनले त्यसै शैलीलाई निरन्तरता दिँदै, भोग्नु परेको अन्यायका विरुद्ध महिलाको आत्मसम्मान र आत्मबोलाई दर्शक–श्रोतासामु सशक्त रूपमा राखेकी छन्। शब्द, स्वर र दृश्य प्रस्तुति एकअर्काको पूरक बनेको यो गीतले फेरि एकपटक दर्शकको मनमा एलिनाको भावपूर्ण पहिचानलाई थप मजबुत बनाइदिएको छ।

