काठमाडौं । ५ हजार ४ सय वर्षभन्दा पुरानो विश्वका केही पुराना जैतुनको रूखहरूको घर जोर्डनले हालैका वर्षहरूमा उत्पादनमा सबैभन्दा तिब्र गिरावटको सामना गरिरहेको छ ।
जोर्डनको कुल क्षेत्रफलको लगभग ९२ प्रतिशत भाग सुख्खादेखि अर्ध–सुक्खा हावापानीमा पर्छ । कडा र खडेरी प्रतिरोधीका लागि परिचित जैतुनको रूखहरू यी परिस्थितिहरूमा फस्टाउँछन् । जोर्डनमा धेरै प्राचीन रोमन–युगका जैतुनको बगैंचा अझै पनि देशभर उभिएका छन् । तर पनि यस मौसममा शताब्दी पुराना रूखहरूले पनि संघर्ष गरेका छन् ।
यस वर्ष वर्षाको अभाव र खडेरीका कारण उत्पादन धेरै कम छ । यस वर्षको फसल विगतका वर्षहरूको तुलनामा दशांश मात्र हो । विगत एक दशकदेखि, जोर्डनले वार्षिक २३ हजार–२४ हजार टनको घरेलु माग पूरा गर्दै लगभग ५ हजार टन निर्यात गर्दै आएको थियो । तर यस वर्ष आपूर्ति मागभन्दा कम भएपछि सेप्टेम्बरबाट निर्यातमा प्रतिवन्ध लगाइएको थियो ।

