काठमाडौं । गोकर्णदेखि बल्खुसम्म फैलिएको बागमती नदी करिडोर अब आधुनिक प्रकाश व्यवस्था र सीसीटीभी निगरानी प्रणालीले झन् सुरक्षित र व्यवस्थित बन्ने भएको छ ।
बागमती सभ्यता एकीकृत विकास समितिले करिडोर क्षेत्रमा बढ्दै गएको फोहोर फाल्ने समस्या, अवैध क्रियाकलाप र सुरक्षा जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले स्मार्ट लाइटिङ र अत्याधुनिक सर्भिलेन्स सिस्टम जडान प्रक्रिया अघि बढाएको हो ।
समितिका उपनिर्देशक उद्धव नेपालका अनुसार करिडोरभर ५६७ स्मार्ट सडक बत्ती र ६ स्थानमा ४८ हाइमास्ट फ्लडलाइट जडान गरिनेछ । त्यस्तै तापक्रम, धुलो र पानी प्रतिरोधी १२० थान क्यामेरा पनि स्थापना हुनेछन्, जसले दिनरात दुवै बेला निगरानी गर्नेछन् ।
बत्ती तथा सीसीटीभी जडानका लागि आवश्यक निर्माण कम्पनी छान्न सोमबार टेन्डर आह्वान भइसकेको छ । यी प्रणालीका सर्भर र मोनिटरिङ युनिट काठमाडौं प्रहरी परिसरमै रहने छन् ।
योजनाले करिडोर क्षेत्रका अँध्यारा भाग उज्यालो बनाउँदै अपराध नियन्त्रण, ट्र्याकिङ, अव्यवस्थित गतिविधि रोकथाम र समग्र सुरक्षा व्यवस्थामा महत्वपूर्ण सुधार ल्याउने लक्ष्य लिएको छ । साथै, बागमती सरसफाइ महाअभियानलाई पनि यसले थप प्रभावकारी बनाउने विश्वास समितिको छ ।
थापाथली–टेकु दोभान क्षेत्रमा भने पहिले नै सीसीटीभी जडानको काम सकिएको समितिले जनाएको छ ।

