कञ्चनपुर । हमासको कब्जामा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पुनः पहल गर्न आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्।
पुष्पाले जानकारी दिँदै अन्तरराष्ट्रिय दबाब सिर्जना गर्न अमेरिका जाने निर्णय भएको बताइन्। “यसअघि इजरायल पुगेझैँ यो पटक संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तरराष्ट्रिय मञ्चमा अपिल गर्ने लक्ष्यसहित अमेरिका हिँडिएका हौँ,” उनले भनिन्।
यसअघि पनि आमा र बहिनीलाई इजरायल लगेर विपिनको रिहाइ प्रयास गरिएको थियो। यस पटक पनि इजरायलको सहयोगमा उनीहरू अमेरिका पुगेर संयुक्त राष्ट्रसङ्घसम्म अपिल पुर्याउने तयारी भएको बताइएको छ।
गत शनिबार हमासले विपिनसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको थियो। विपिनको परिवारले उक्त तस्बिर इजरायलमाथि दबाब सिर्जना गर्नै उद्देश्यले सार्वजनिक गरिएको हुनसक्ने आशंका व्यक्त गरेको छ।

