काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।
आफूले नेतृत्व छोडेको भए पनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने उनले बताए । राजनीतिक दलहरुभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनैतिक शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनको धारणा छ ।
प्रमुख तीन परम्परागत दलका शिर्ष नतोहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरुले मुलुकलाई असफल बनाएको भट्टराईले टिप्पणी गरे । उनले मुलुकमा सुशासन कायम गर्नका लागि जेन–जी विद्रोह जायज भए पनि केही नेता र बाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको टिप्पणी पनि गरे ।
सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरुलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने समेत उनले बताए । उनले अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए । निर्वाचन र शासकीय प्रणालीमा सुधार नगरेर भोलि पनि आजकै भ्रष्ट राजनीतिक दलहरुले देशको नेतृत्व गर्दा मुलुक थप जटिलतातर्फ जाने उनको भनाइ छ ।

