युएईमा रहेका नेपालीलाई दूतावासको अपिलः कानुन पालना र अनुशासित रहन आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न पेशा तथा व्यवसायमा कार्यरत नेपालीहरुलाई नियम, कानुन र मूल्य–मान्यताको पूर्ण पालना गर्न अबुधाबीस्थित नेपाली दूतावासले अपिल गरेको छ।

दूतावासले २३ सेप्टेम्बर २०२५ मा जारी गरेको सूचनामा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यस्थल र बसोबास गर्ने स्थानमा सधैं मर्यादित, अनुशासित, इमानदार र कर्तव्यनिष्ठ रहन आग्रह गरिएको छ।

हालसालै युएईमा रहेका कतिपय नेपाली मादक पदार्थ सेवन, झैझगडा, आपसी लेनदेनमा विवाद, बैंकिङ्ग कसुर, लागुऔषध ओसारपसार, अध्यागमन उल्लंघन र ट्राफिक नियम तोडजस्ता कानुनविपरीत गतिविधिमा संलग्न भई दूतावासमा उजुरी पर्न थालेको उल्लेख गर्दै यसप्रकारका घटनामा नपर्न सचेत गराइएको छ।

दूतावासले विशेषगरी मादक पदार्थ सेवन गरी झैझगडा नगर्न, अपरिचित व्यक्तिले दिएको सामान चेकजाँच नगरी नबुझ्न, ट्राफिक नियम सदैव पालना गर्न, जेब्रा क्रसिङबाट मात्र बाटो काट्न, सिग्नलको पालना गर्न र इमिरेट्स कार्ड सधैं साथमा बोक्न नेपालीहरुलाई सम्झाएको छ। साथै शिष्ट, मर्यादित र अनुशासित व्यवहार गर्ने, नगद कारोबार वा लेनदेन नगर्ने, लोभ वा प्रलोभनमा नपर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने वा सामाजिक सद्भाव खल्बलाउने सामग्री पोस्ट नगर्ने स्पष्ट अपिल गरिएको छ।

त्यस्तै, चाडपर्व तथा धार्मिक कार्यक्रम सामूहिक रुपमा आयोजना गर्नुपरेमा सम्बन्धित निकायबाट पूर्व स्वीकृति लिएर तोकिएको स्थानमै मात्र गर्न आग्रह गरिएको छ। नेपाली समुदायबीच आपसी सम्बन्ध र भातृत्व कायम राख्दै एकताको वातावरणमा बस्न पनि दूतावासले आह्वान गरेको छ।

नेपाली राजदूतावास, अबुधाबीले युएईमा सुरक्षित, अनुशासित र कानुनसम्मत जीवनयापन गर्न सम्पूर्ण नेपालीप्रति हार्दिक अनुरोध गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार