काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय पुनः लम्ब्याएको छ। पार्टीले यसअघि निर्धारण गरेको समय पर्याप्त नभएको भन्दै अब साउन ३ गतेसम्म नयाँ सदस्यता वितरण गर्न सकिने निर्णय गरेको हो।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन ३ सम्म कायम रहनेछ। उनले सदस्यता वितरण प्रक्रियालाई सहज बनाउन यस्तो निर्णय गरिएको जानकारी दिए।
यसअघि कांग्रेसले नयाँ सदस्यता वितरणका लागि असार २० गतेसम्मको समयसीमा तोकेको थियो। हाल इच्छुक व्यक्तिले अनलाइनमार्फत पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। तर, पुरानो सदस्यताको अध्यावधिक ९नवीकरण० गर्न भने सम्बन्धित सदस्यले केन्द्रीय कार्यालयमै उपस्थित हुनुपर्ने व्यवस्था यथावत् रहेको पौडेलले बताए।
नेपाली कांग्रेसले आगामी असोज महिनामा १५औं महाधिवेशन गर्ने तयारी गरिरहेको छ। महाधिवेशनअघि सदस्यता वितरण, अध्यावधिक तथा संगठन सुदृढीकरणका कामलाई तीव्रता दिइएको पार्टीले जनाएको छ।

